
काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनपछिको विशेष राजनीतिक परिस्थितिमा सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज (बिहीबार) देशभर एकै चरणमा मतदान हुँदैछ ।
मतदानका लागि बिहान बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको समय तोकिएको छ । उक्त मतदानमा आज खसालिने मतले भोलिको शासन तय गर्ने छ । ७७ वटै जिल्लामा एकसाथ हुन लागेको मतदानलाई निष्पक्ष, व्यवस्थित, शान्तिपूर्ण र विश्वसनीय बनाउन व्यापक रूपमा सुरक्षा र प्रशासनिक सक्रियता बढाइएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि भएको यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन सम्पन्न भएको थियो ।
बिहीबारको निर्वाचनबाट प्रत्यक्ष प्रणालीतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना प्रतिनिधिसभा सदस्य चयन हुनेछन् । ‘पहिलो हुने निर्वाचित हुने’ प्रणालीअन्तर्गत प्रत्यक्षतर्फ ६५ राजनीतिक दलका ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
तीमध्ये तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य उम्मेदवार रहेका छन् । समानुपातिकतर्फ भने एक हजार ३६३ पुरुष र एक हजार १ हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार चुनावी मैदानमा छन् ।
निर्वाचन आयोगका अनुसार यसपटक ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको छ ।
मतदानका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् भने १४३ अस्थायी मतदानस्थलको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई प्राथमिकताका आधारमा मतदान गर्ने सुविधा दिइएको छ ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै देशभरका मतदानस्थल र मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन सुरक्षाका लागि ठूलो संख्यामा नेपाली सेना, नेपाल र सशस्त्र तथा निर्वाचन प्रहरी परिचाल गरिएको छ । अनुसन्धान विभागका कर्मचारी पनि खटिएका छन् ।
निर्वाचन सम्पन्न गराउन देशभर दुई लाख १५ हजार कर्मचारी खटिएका छन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ गरी चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित केन्द्रमा पुर्याइसकेको छ ।
मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका नागरिकले पनि नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जाको सक्कलप्रति देखाएर मतदान गर्न सक्ने व्यवस्था गरिएको छ । चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय पर्यवेक्षण संस्था मतदान अनुगमनमा खटिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले लोकतन्त्र सुदृढ बनाउन उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गरेका छन् । मतदानलाई लोकतन्त्रको सुदृढीकरण र आगामी पाँच वर्षको राजनीतिक दिशानिर्धारण गर्ने महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ ।
मतदाताको विवेकपूर्ण निर्णयले देशको स्थिरता, सुशासन र विकासको मार्ग तय गर्ने विश्वास गरिएको छ ।

























