फायल फोटो ।विराटनगर । उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ ।
कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा बिहान ७ः१० बजेतिर घटना भएको हो । नेपाल प्रहरीले बोकेको सटगनबाट गोली पड्किएको थियो ।
प्रहरीका अनुसार हतियार बोकेका प्रहरी अचानक लडेका थिए । त्यस क्रममा भुइँमा झरेको सटगनबाट आफैं गोली पड्किएको प्रारम्भिक विवरण छ ।
प्रहरीले बोकेको हतियारबाट गोली पड्किएर मतपेटिकामा क्षति पुगे पनि मानवीय र अन्य भौतिक क्षति भने नभएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले बताए ।
गोली पड्किएर क्षति पुगेको मतपेटिका फेरेर मतदानलाई सुचारु राखिएको छ । मतदानमा अन्य कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।
























