
विराटनगर । कोशी प्रदेशमा उत्साहपूर्ण हिसाबले मतदान जारी छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बिना अवरोध शान्तिपूर्ण रुपमा मतदान जारी रहेको हो ।
नेपाली कांग्रेसका नेता शेखर कोइराला, पूर्वसभामुख देवराज घिमिरे, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, धरान उपमहानगरका पूर्वमेयर हर्क साम्पाङ, मोरङको निर्वाचन क्षेत्र ४ का एमाले उम्मेदवार जीवन घिमिरे, क्षेत्र नम्बर ६ का एमाले उम्मेदवार विनोद ढकाल, इलाम २ का एमाले उम्मेदवार सुहाङ नेम्वाङ लगायतले मतदान गरिसकेका छन् ।
मोरङ–६ का कांग्रेस उमेदवार डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श विद्यालय मतदान केन्द्रमा बिहान ८ः३० बजेतिर मतदान गरेका छन् ।
कोशी प्रदेशमा १ हजार ९ सय ७ मतदानस्थल तथा स्थायी र अस्थायी गरेर ४ हजार २ सय ९४ मतदान केन्द्र छन् । सबै केन्द्रमा मतदान जारी रहेको हो ।
कोशीमा ३५ लाख ७४ हजार ३ सय १० मतदातामध्ये १७ लाख ४६ हजार ७३ महिला, १८ लाख २८ हजार २ सय १३ पुरुष र २४ जना अन्य छन् ।


































