
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं जिल्लामा बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको छ। मुख्य निर्वाचन अधिकृत चुरामान खड्काका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो १२ बजेसम्म २५ प्रतिशत मत खसेको छ।
काठमाडौँका सबै निर्वाचन क्षेत्रहरूमा हालसम्म शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत खड्काले बताए। सुरक्षा व्यवस्था कडा पारिएका कारण मतदाताहरू निर्धक्क भएर मतदान केन्द्रसम्म पुगिरहेका छन्।
यसअघि बिहानै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्दै आफ्नो नागरिक कर्तव्य पूरा गरेको बताएकी थिइन्। काठमाडौँका विभिन्न मतदान केन्द्रहरूमा युवा मतदाताहरूको बाक्लो उपस्थिति देखिएको छ।
निर्वाचन आयोगले काठमाडौँसहित देशभरका मतदान केन्द्रहरूमा साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ। दिउँसोको समयमा मतदाताको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

























