
विराटनगर । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मोरङ जिल्लाका सबै ६ वटा निर्वाचन क्षेत्रमा आज दिउँसो १ बजेसम्म २९.५५ प्रतिशत मतदान भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार जिल्लाभरका ८८८ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
जिल्लाका कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये हालसम्म २ लाख ३१ हजार ३९७ जनाले मतदान गरिसकेका छन्। जसमा १ लाख १६ हजार ७४९ पुरुष र १ लाख १४ हजार ६४८ महिला मतदाता रहेका छन्।
क्षेत्रगत विवरण अनुसार मोरङ क्षेत्र नम्बर १ र ४ मा सबैभन्दा बढी ३२.९८ प्रतिशत मतदान भएको छ। क्षेत्र नम्बर ६ मा ३२.४० प्रतिशत, क्षेत्र नम्बर ३ मा २८.९९ प्रतिशत र क्षेत्र नम्बर २ मा २६.९३ प्रतिशत मत खसेको छ। सबैभन्दा कम मतदान क्षेत्र नम्बर ५ मा २२.१५ प्रतिशत मात्र भएको तथ्याङ्कले देखाउँछ।
बिहानको तुलनामा दिउँसो मतदाताको उपस्थिति अझ बढेको देखिएको छ। जिल्लाका सबै क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदान प्रक्रिया निर्वाध रूपमा अगाडि बढिरहेको प्रशासनले जनाएको छ। साँझ ५ बजेसम्म मतदानको समय रहेकाले यो प्रतिशत उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।
























