
काठमाडौं। स्याङ्जा क्षेत्र नम्बर २ अन्तर्गत वालिङ नगरपालिका-१० स्थित बालज्योति आवासीय विद्यालय मदीखोला मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ। मतदान अधिकृतले प्रत्यक्षतर्फको मतपत्रमा हस्ताक्षर नगरेको फेला परेपछि राजनीतिक दलका प्रतिनिधिहरूले आपत्ति जनाउँदा विवाद उत्पन्न भएको हो।
मतदान स्थलमा खटिएका एक सुरक्षा अधिकृतका अनुसार हस्ताक्षर नभएका मतपत्र प्रयोग भएको विषयमा विवाद भएपछि मतदान स्थगित गरिएको हो। अहिले सो केन्द्रमा उत्पन्न विवाद समाधान गरी पुनः मतदान सुरु गर्नका लागि सर्वदलीय बैठक बसिरहेको छ।
सरकारी अधिकारीहरूले सर्वदलीय सहमति जुटाएर जतिसक्दो चाँडो मतदान प्रक्रियालाई निरन्तरता दिने प्रयास भइरहेको जानकारी दिएका छन्। स्याङ्जाका अन्य मतदान केन्द्रहरूमा भने मतदान कार्य सुचारु रहेको बताइएको छ।

























