
काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत देशभर मतदानको दर उत्साहजनक रूपमा बढिरहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अहिले प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदान भइरहेको छ।
बिहानीपख हिमाली तथा पहाडी जिल्लामा मतदानको प्रतिशत केही कम देखिए पनि मध्यान्हपछि भने मतदाताको उपस्थिति बाक्लिएको छ। पछिल्लो तथ्याङ्क अनुसार हिमाली जिल्ला मुस्ताङमा उत्साहजनक ४० प्रतिशत मत खसिसकेको छ। प्रवक्ता भट्टराईले मध्यान्हसम्म देशभर झण्डै २५ प्रतिशत मत खसेको र यो संख्या प्रत्येक मिनेट बढिरहेको बताएका छन्।
सर्लाहीलगायतका केही स्थानमा सामान्य विवादका कारण केही समय मतदान रोकिए पनि आयोगको सहजीकरणपछि पुनः सञ्चालनमा आएको छ। यस्तै ओखलढुङ्गा र दाङका केही क्षेत्रमा मतदान बहिष्कारको खबर प्राप्त भए पनि ती स्थानमा मतदान सुचारु गर्न स्थानीय प्रशासन र आयोगले प्रयास गरिरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।
आयोगले साँझ ५ बजे मतदान सकिएपछि देशभरको कुल मतदान प्रतिशतको आधिकारिक जानकारी गराउने तयारी गरेको छ। अहिलेसम्मको अवस्थालाई आयोगले उत्साहजनक र शान्तिपूर्ण भनेको छ।
























