
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा ५२.४८ प्रतिशत मतदान भएको छ । प्रारम्भिक विवरण मात्रै रहेकाले यो प्रतिशत घटबढ हुन सक्ने छ ।
हालसम्म प्राप्त विवरण अनुसार कोशीमा १८ लाख ७६ हजार ५० मत खसेको छ । ३५ लाख ७४ हजार ३ सय १० मतदाता थिए । १६ लाख ९८ हजार बढी मतदाता अनुपस्थित भएको प्रारम्भिक विवरण छ ।
लगभग ४७ दशमलव ५२ प्रतिशतले मतदान अस्वीकार गरेका हुन् । कोशीमा १ हजार ९ सय ७ वटा मतदानस्थल र ४ हजार २ सय ७० मतदान केन्द्र तोकिएको थियो । अस्थायी मतदानस्थल २४ वटा थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशभरि मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदान सम्पन्न गर्नका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित २५ हजार ७ सय ६४ जना कर्मचारी परिचालन गरिएको थियो ।
ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । कर्मचारी र सुरक्षाकर्मीको सुझबुझपूर्ण निर्णय एवं सक्रिय सहभागिताका कारण शान्तिपूर्ण निर्वाचन सम्भव भएको हो ।
१४ जिल्ला रहेको कोशी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र छन् । ४ सय ९५ उम्मेदवार चुनावी मैदानमा थिए ।
























