
विराटनगर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा ५८.६५ प्रतिशत मतदान भएको छ ।
३५ लाख ७४ हजार ३ सय १० मतदातामध्ये २० लाख ९६ हजार ४ सय ९५ मत खसेको छ । १० लाख २५ हजार ९ सय ६८ पुरुष र १० लाख ७० हजार ५ सय २० महिला तथा ७ जना अन्यले मतदानमा सहभागिता जनाएका हुन् । १४ लाख ७७ हजार ८ सय १५ जना अनुपस्थित रहे । ४१.३५ प्रतिशत मतदाताले मतदान प्रक्रियामा भाग लिएनन् ।
कोशीका १४ जिल्लामध्ये मोरङमा सबैभन्दा धेरै मत खसेको छ । ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५ सय १४ जनाले मतदान गरेका छन् । मोरङमा ६४.५६ प्रतिशत मत खसेको हो । २ लाख ७७ हजार ५ सय ३६ जना (३५.४४ प्रतिशत)ले मतदान गरेनन् ।
सबैभन्दा कम मत खोटाङमा खसेको छ । १ लाख ४७ हजार १ सय २० जना मतदाता रहेको खोटाङमा ६३ हजार ३५ जनाले मात्रै मतदान गरेका छन् । ४२.८५ प्रतिशत मत खसेको हो । ८४ हजार ८५ जना (५७.१५ प्रतिशत)ले मत दिएनन् ।
७ लाख १३ हजार ५ सय ३७ मतदाता रहेको झापामा ४ लाख ५८ हजार २ सय ७९ (६४.२३ प्रतिशत), २ लाख ३१ हजार ८ सय ९ मतदाता रहेको इलाम १ लाख ३२ हजार २ सय १४ (५७.०४ प्रतिशत, १ लाख ४३ हजार ४ सय ८ मतदाता रहको पाँचथरमा ७१ हजार १ सय ७० (४९.६३ प्रतिशत) र ९० हजार ३ सय २७ मतदाता रहेको ताप्लेजुङमा ४६ हजार ४ सय २ (५१.३७ प्रतिशत मत खसेको छ ।
५ लाख ८० हजार ९ सय ४५ मतदातामध्ये सुनसरीमा ३ लाख ६९ हजार ६ सय (६३.६२ प्रतिशत), १ लाख १८ हजार ४ सय २५ मतदाता रहेको धनकुटामा धनकुटा ६४ हजार ३ सय १५ (५४.३१ प्रतिशत), ७३ हजार १ सय ३७ मतदातामध्ये तेह्रथुममा ३९ हजार ९ सय ९३ (५३.५९ प्रतिशत) र १ लाख १९ हजार ६ सय ३० मतदाता रहेको संखुवासभामा ६३ हजार ६ सय ३४ (५३.१९ प्रतिशत) मत खसेको छ ।
१ लाख २५ हजार ७ सय ६६ मतदाता रहेको भोजपुर ५८ हजार ६९ (४६.१७ प्रतिशत), २ लाख ३८ हजार ९ सय २६ मतदातामध्ये उदयपुर १ लाख २४ हजार ५ सय ९० (५२.१५ प्रतिशत), १ लाख २२ हजार ७ सय १५ मतदाता रहेको ओखलढुंगामा ५९ हजार ७९ (४८.१४ प्रतिशत) र ८५ हजार ५ सय १५ मतदातामध्ये सोलुखुम्बुमा ४१ हजार ४ सय १ (४८.४१ प्रतिशत) मत खसेको छ ।
कोशीमा १ हजार ९ सय ७ वटा मतदानस्थल र ४ हजार २ सय ७० मतदान केन्द्र तोकिएको थियो । अस्थायी मतदानस्थल २४ वटा थिए ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले प्रदेशभरि मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । ‘कडा सुरक्षाबीच बिना घटना र अवरोध निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद,’ उनले भने । मतदान सम्पन्न गर्नका लागि कोशीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित २५ हजार ७ सय ६४ जना कर्मचारी परिचालन गरिएको थियो ।
निर्वाचनको सुरक्षाका लागि ठूलो संख्यामा नेपाली सेना, नेपाल तथा सशस्त्र र निर्वाचन प्रहरी परिचालन गरिएको थियो । कर्मचारी र सुरक्षाकर्मीको सुझबुझपूर्ण निर्णय, सक्रिय सहभागिता तथा सबै पक्षको सहयोगका कारण शान्तिपूर्ण निर्वाचन सम्भव भएको डीआईजी घिमिरेले बताए । २८ वटा निर्वाचन क्षेत्र रहेको कोशीमा ४ सय ९५ उम्मेदवार चुनावी मैदानमा थिए ।
























