
विराटनगर । केही समयअघि मात्रै पत्रकारिता पेसा छाडेर आफ्नै व्यवसाय गर्ने योजनामा रहेका विराटनगर महानगरपालिका–३ कञ्चनबारीका स्थायी बासिन्दा ३४ वर्षीय सन्तोष राजवंशीले यति चाँडै संसदको यात्रा तय गर्छु भन्ने आफैंले पनि कल्पना गरेका थिएनन् ।
तर, राजनीतिमा प्रवेश गरेको झन्डै डेढ महिनामै मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुँदै नेपाली राजनीतिको नयाँ कथा लेख्न उनी सफल भएका छन् । पत्रकारितामा लामो समय बिताएका राजवंशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अचानक चुनाव लड्ने प्रस्ताव राखेको थियो ।
राजनीतिमा चासो राखे पनि सक्रिय नभएका उनले पार्टीको प्रस्ताव अस्वीकार गरेनन् । त्यसपछि सुरु भएको छोटो राजनीतिक यात्राले उनलाई सीधै संघीय संसद भवनसम्म पुर्याइदियो । राजनीतिमा नयाँ अनुहारका रूपमा उदाएका राजवंशीलाई प्रमुख राजनीतिक दलहरूले प्रतिस्पर्धीका रूपमा लिएका थिएनन् ।
मोरङ–४ जस्तो राजनीतिक रूपमा संवेदनशील क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री अमनलाल मोदी र नेकपा (एमाले)का केन्द्रीय सदस्य जीवन घिमिरेजस्ता स्थापित नेताहरू मैदानमा थिए । तीन कार्यकाल सांसद भइसकेका मोदी निवर्तमान सांसद पनि हुन् ।
तीन ठूला दलका स्थापित नेताहरु चुनावी मैदानमा आएका कारण अनौपचारिक तथा औपचारिक छलफलका बेला रास्वपा उम्मेदवारले मत मात्रै काट्ने चर्चा चल्थ्यो । राजवंशीलाई वास्तविक प्रतिस्पर्धीका रूपमा कसैले पनि गम्भीरतापूर्वक लिएको देखिँदैन थियो । तर, अन्तिम मतपरिणाम सार्वजनिक हुँदा राजनीतिक समीकरण नै उल्टियो । उनी भारी मतान्तरले विजयी बने ।
अन्ततः पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका तिनै सन्तोष राजवंशीले प्रभावशाली नेताहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै सबैलाई आश्चर्यचकित बनाइदिएका छन् । उनले ४० हजार ८३३ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत मात्रै पाए । यसरी राजवंशीले २८ हजार १५ मतान्तरको विशाल अन्तरले जीत निकाल्दै मोरङ–४ मा नयाँ राजनीतिक सन्देश दिएका छन् ।
३४ वर्षको उमेरमै संसद पुगेका राजवंशी पेसाले पत्रकार हुन् । १५ वर्षभन्दा बढी समय उनले पत्रकारितामा बिताए । राजनीतिमा सक्रिय भएपछि भने उनले पत्रकारिता पेसा छाड्ने निर्णय गरेका थिए । पत्रकारिताबाट समाजका समस्या उजागर गर्दै आएका उनी अब ती समस्याको समाधान नीति निर्माणको तहबाट गर्ने लक्ष्यका साथ संसद पुगेका छन् ।

राजवंशी सामान्य परिवारबाट आएका हुन् । उनी आफूलाई ‘भुइँ मान्छे’ भनेर चिनाउन रुचाउँछन् । आफ्नो पृष्ठभूमिबारे बोल्दै उनले भने, àम एउटा सामान्य र गरिब परिवारबाट आएको मान्छे हुँ । विराटनगरको मूलबासी आदिवासी राजवंशी समुदायको छोरो आज संसदमा पुग्ने अवसर पाएको छु । अब जनताको धेरै काम गर्नुपर्ने जिम्मेवारी आएको छ ।’
पत्रकारिता विषयमै उच्च शिक्षा हासिल गरेका उनले सञ्चार क्षेत्रमा आफ्नो यात्रा जागृति एफएमबाट सुरु गरेका थिए । त्यसपछि उनले कोशी एफएम र बीएफएममा काम गरे । पछिल्लो समय नेपाल टेलिभिजनको इटहरी प्रसारण केन्द्रमा पनि उनले पत्रकारका रूपमा काम गरेका थिए ।
पत्रकारिता गर्दै गर्दा समाजका समस्या, जनताका गुनासा र राज्यका कमजोरीलाई उजागर गर्ने काममा उनी सक्रिय थिए । त्यही अनुभवले राजनीति प्रवेश गर्न प्रेरित गरेको उनले बताए । आफूलाई ‘भुइँ मान्छे’ भनेर चिनाउने राजवंशी पत्रकारिताले समाजको वास्तविकता नजिकबाट बुझ्ने अवसर दिएको बताउँछन् । तर, ती समस्याको समाधानका लागि नीति निर्माण तहमा पुग्न आवश्यक ठानेर आफू राजनीतिमा प्रवेश गरेको उनले बताए ।
आफ्नो विजयलाई उनले ‘भुइँ मान्छेहरूको जित’ का रूपमा व्याख्या गरेका छन् । राजवंशीका अनुसार साधारण नागरिकले परिवर्तन चाहेको सन्देश मत परिणामले स्पष्ट देखाएको छ ।
संसदमा पुगेपछि आफ्नो भूमिका कस्तो हुनेछ भन्ने प्रश्नमा उनले नीति निर्माण, सुशासन र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्ने बताए । ‘नीति र कानुन निर्माणमा सक्रिय भूमिका खेल्नुपर्छ । संविधान र संघीय कानुनहरू आवश्यकताअनुसार संशोधन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘मतदाताले सुशासन चाहेका छन् । प्रशासनिक झन्झट घटाएर सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउन काम गर्नुपर्नेछ ।’
उनले कानुनी व्यवस्था सुदृढ बनाउने, प्रशासनिक प्रणालीलाई चुस्त बनाउने र नागरिकले सहज रूपमा सेवा पाउने वातावरण बनाउन संसदभित्र आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । युवाहरूका लागि स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयलाई पनि उनले आफ्नो प्राथमिक एजेन्डा बनाएका छन् । उनका अनुसार ठूलो संख्यामा युवा विदेश पलायन भइरहेका कारण राज्यले रोजगारी सिर्जना गर्ने नीतिमा ध्यान दिन अत्यावश्यक छ ।
त्यसैगरी, देशमा व्याप्त भ्रष्टाचार न्यूनीकरण गर्न कडा नीतिगत पहल आवश्यक रहेको उनले बताए । पारदर्शिता र जवाफदेहिता कायम गर्दै स्थिर र जिम्मेवार सरकार निर्माणमा आफूले भूमिका खेल्ने उनको भनाइ छ ।
निर्वाचन परिणामले आम मतदातासहित आफूलाई पनि उत्साहित बनाएको उनले बताए । ग्रामथान, विराटनगर, कटहरी र बेलबारी क्षेत्रका मतदाताले आफूलाई ठूलो विश्वासका साथ मत दिएको भन्दै उनले त्यस विश्वासलाई काममार्फत् प्रमाणित गर्ने प्रतिबद्धता जनाएका छन् ।
मोरङ–४ को निर्वाचन परिणामले नेपाली राजनीतिमा नयाँ सन्देश दिएको विश्लेषकहरूको मत छ । स्थापित र शक्तिशाली दलका प्रभावशाली नेताहरूबीच नयाँ अनुहारका रूपमा उभिएका राजवंशीले प्राप्त गरेको फराकिलो विजयले मतदाताले वैकल्पिक राजनीतिक शक्तिलाई पनि अवसर दिन चाहेको स्पष्ट हुन्छ ।
पत्रकारिताबाट राजनीति हुँदै संसदसम्मको राजवंशीको छोटो तर रोचक यात्राले अहिले राजनीतिक वृत्तमा राम्रै चर्चा पाइरहेको छ । अब भने जनताको विश्वासलाई व्यवहारिक परिणाममा रूपान्तरण गर्नु उनको सबैभन्दा ठूलो परीक्षा हुने विश्लेषकहरु बताउँछन् ।

























