
गुल्मी। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित हासिल गरेको छ। अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार गोविन्द पन्थीले नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टलाई पराजित गरेका हुन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार पन्थीले १६ हजार ९६७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी विष्टले १६ हजार ४०६ मत पाए। पन्थीले विष्टलाई ५६१ मतान्तरले पछाडि पार्दै ऐतिहासिक जित दर्ता गरेका हुन्।
यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठ १४ हजार ४३४ मतका साथ तेस्रो स्थानमा रहेका छन्। गुल्मीको यो क्षेत्रमा विगत लामो समयदेखि गोकर्ण विष्टको बलियो प्रभाव रहँदै आएको थियो, तर यसपटक रास्वपाका पन्थीले उक्त विरासत तोड्न सफल भएका छन्।
























