
काठमाडौं।। जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको विध्वंशबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले भोलि आइतबारसम्ममा आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने भएको छ। प्रतिवेदनलाई अन्तिम रूप दिन आयोगका पदाधिकारीहरू अहिले सिंहदरबारस्थित कार्यालयमा कार्यसम्पादन गरिरहेका छन्।
आयोगका अनुसार प्रतिवेदन लेखनका क्रममा हुनसक्ने प्राविधिक त्रुटि वा कमजोरीहरू रुजु गर्ने काम अन्तिम चरणमा पुगेको छ। आज अपराह्नसम्म रुजु गर्ने कार्य सकिने र सम्भव भए आजै बेलुकी, नभए भोलिसम्ममा प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण गर्ने तयारी छ। अनुसन्धानका क्रममा सङ्कलन गरिएका महत्त्वपूर्ण प्रमाण र दस्तावेजहरूलाई समेत सचिवालयले वर्गीकरण गरी शिलबन्दी गरिरहेको छ, जसलाई प्रतिवेदनसँगै बुझाइनेछ।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित यस आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारी सदस्य रहेका छन्। गत २३ भदौमा भएको आन्दोलन र त्यसपछिका घटनाक्रमको सत्यतथ्य बाहिर ल्याउन यो आयोग गठन गरिएको थियो।
























