
दाङ। दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्य भारी मतान्तरका साथ विजयी भएका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पराजित गर्दै आचार्यले जित हासिल गरेका हुन्।
कूल ८२ हजार ६ मत खसेको यस क्षेत्रमा आचार्यले ४३ हजार ५५७ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमाले महासचिव पोखरेलले १५ हजार २८२ मतमा चित्त बुझाउनु पर्यो। एमालेको बलियो पकड मानिने क्षेत्रमा महासचिव पोखरेलको यो पराजयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पोखरेलले अन्तिम परिणाम आउनु अगावै आफ्नो पराजय स्वीकार गर्दै विजयी आचार्यलाई बधाई तथा शुभकामना दिएका छन्।
निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले ११ हजार २७७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत पाए। दाङमा रास्वपाको यो जितले राजनीतिमा नयाँ समीकरणको सङ्केत गरेको छ।
























