
विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुविना आचार्यलाई बधाई दिएका छन्। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि विज्ञप्ति जारी गर्दै डा. कोइरालाले लोकतान्त्रिक पद्धतिमा युवाहरूको विजयलाई खुसीको कुरा बताएका हुन्।
निर्वाचनलाई जय र पराजयभन्दा माथि उठेर संस्कार र संस्कृतिको विकास गर्ने पद्धतिका रूपमा बुझ्नुपर्ने उनले उल्लेख गरेका छन्। ‘सक्षम र योग्य युवाहरू निर्वाचनमा विजयी हुनुभएको छ, जो राष्ट्रको परिवर्तनका वाहक हुन्। उहाँहरूलाई भावी संसद्मा नीति निर्माणको तहमा देख्न पाउनु खुसीको कुरा हो,’ कोइरालाले भनेका छन्। उनले नवनिर्वाचित आचार्यले यस क्षेत्रको जनसेवा र समृद्धिमा गर्ने काममा आफ्नो पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता समेत जनाएका छन्।
आफू पराजित भए पनि मोरङ–६ का मतदातासँग आफ्नो अटुट सम्बन्ध र प्रेम रहेको भन्दै डा. कोइरालाले यसमा कुनै आँच आउन नदिने विश्वास दिलाएका छन्। उनले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाता, निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने सुरक्षा निकाय र कर्मचारीहरूलाई धन्यवाद दिएका छन्। फागुन २१ गते सम्पन्न निर्वाचनपछि देश अब नयाँ सरकार निर्माणको दिशामा अघि बढेको उनले बताएका छन्।
























