
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट बहुमततर्फ उन्मुख देखिएको छ । देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये अब २८ क्षेत्रको अन्तिम नतिजा आउन बाँकी छ, जसमा रास्वपाले १८ स्थानमा आफ्नो अग्रता कायम राखेको छ ।
हालसम्म सार्वजनिक भएको नतिजा अनुसार रास्वपाले प्रत्यक्षतर्फ १०६ सिट जितिसकेको छ । गणना जारी रहेका १८ क्षेत्रमा पनि अग्रता कायम रहेकाले रास्वपाले एकल सरकार बनाउन आवश्यक सिट संख्या सहजै कटाउने देखिएको छ । रास्वपा बाहेक अहिलेसम्म नेपाली कांग्रेसले १५, नेकपा एमालेले ७, नेपाली कम्युनिस्ट पार्टीले ६ तथा राप्रपा, श्रम संस्कृति र स्वतन्त्रले एक–एक स्थानमा जित हासिल गरेका छन् ।
यसपटकको निर्वाचनमा रास्वपाले ऐतिहासिक सफलता हासिल गर्ने क्रममा झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेको छ । रास्वपाका उम्मेदवार बालेन्द्र शाह (बालेन) ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा ओली १८ हजार ७३४ मतमा सीमित भए । ओली र शाहबीच ४९ हजार ६१४ को फराकिलो मतान्तर रहेको छ । बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको रास्वपाले अब आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी थालेको छ ।
प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रमा समानुपातिकतर्फको गणना पनि तीव्र पारिएको छ । समानुपातिकतर्फ पनि रास्वपाले नै अन्य दलहरूलाई निकै पछि पारेको छ । चितवन–३ बाट निर्वाचित रास्वपाकी सचिवालय सदस्य सोविता गौतमले अब बालेनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएकी छन् । जनताले अन्तिम आशाका रूपमा रास्वपालाई विश्वास गरेकाले यसलाई परिणाममुखी काममा रूपान्तरण गर्ने उनको प्रतिबद्धता छ ।
बाँकी रहेका क्षेत्रको अन्तिम नतिजा पनि आजै साँझसम्म आउने निर्वाचन आयोगले जनाएको छ ।

























