
काठमाडौं । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहबीचको सम्बन्धमा लामो समयपछि सुधारको संकेत देखिएको छ ।
अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विजयको घोषणा गर्दै ‘जय माटो, जय देश, जय श्रम संस्कृति’ भनी लेखेको स्टाटसमा नेता शाहले प्रतिक्रिया दिएपछि दुई नेताबीचको दूरी घट्ने अनुमान गरिएको छ ।
साम्पाङको उक्त स्टाटसमा प्रतिक्रिया जनाउँदै बालेनले लेखेका छन्, ‘तपाईलाई सँधै माया थियो, छ र रहन्छ । तपाई र धरानलाई सँधै माया रहन्छ ।’ विगत केही समयदेखि सार्वजनिक मञ्च र सामाजिक सञ्जालमार्फत एक-अर्काको कडा आलोचनामा उत्रिएका यी दुई चर्चित नेताहरूबीचको यो संवादलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी गत भदौ २३-२४ को ‘जेनजी विद्रोह’ र अन्तरिम सरकार गठनका विषयमा साम्पाङले बालेनको तीव्र विरोध गर्दै आएका थिए ।
यसअघि साम्पाङले प्रधानमन्त्रीका लागि बालेन शाहभन्दा रास्वपा सभापति रवि लामिछाने उपयुक्त हुने धारणा सार्वजनिक गरेका थिए । उनले संसदमा सांसदहरूले उठाएका प्रश्नको डटेर सामना गर्न सक्ने व्यक्ति नै कार्यकारी प्रमुख हुनुपर्ने तर्क राख्दै आएका थिए ।
बालेनले साम्पाङका कडा आलोचनाहरूमा विरलै मात्र प्रतिक्रिया दिने गरे पनि आइतबारको यो हार्दिकतापूर्ण टिप्पणीले दुवै नेताका समर्थकहरू माझ उत्साह थपेको छ । साम्पाङको अभिव्यक्ति र बालेनको जवाफमा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समेत सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।
























