
विराटनगर । स्थापना भएको छोटो समयमै श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा प्रभावशाली प्रदर्शन गरेको छ । गएको कात्तिकमा मात्र औपचारिक रूपमा दर्ता भएको यस पार्टीले प्रत्यक्षतर्फ तीनवटा निर्वाचन क्षेत्रमा जित हासिल गर्न सफल भएको छ ।
पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई सुनसरी–१ बाट निर्वाचित भएका छन् । त्यस्तै, महासचिव आरेन राईले खोटाङबाट र ध्रुवराज राईले भोजपुरबाट विजय प्राप्त गरेका छन् । धरानका मेयर साम्पाङले गत असोजमा दल दर्ताका लागि निवेदन दिएपछि निर्वाचन आयोगले कात्तिक १६ गते पार्टीलाई आधिकारिकता प्रदान गरेको थियो ।
प्रत्यक्षतर्फको सफलतासँगै समानुपातिकतर्फ पनि पार्टीको मत संख्या उत्साहजनक देखिएको छ । ४३ लाख समानुपातिक मतको गणना सकिँदा श्रम संस्कृति पार्टीले ९७ हजार ८९२ मत प्राप्त गरेको छ ।
राष्ट्रिय पार्टीको मान्यता पाउनका लागि कुल सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने कानुनी प्रावधान छ । निर्वाचनको यो नतिजाले नेपाली राजनीतिमा नयाँ शक्तिहरूको आगमनलाई थप मजबुत बनाएको छ ।
























