
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रतालाई निकै फराकिलो बनाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार देशभर ४४ लाख १ हजार ९३३ मत गणना भइसक्दा रास्वपाले झण्डै आधा मत प्राप्त गरेको छ ।
आयोगका अनुसार रास्वपाले हालसम्म २१ लाख ७२ हजार १९ मत प्राप्त गरेको छ, जुन गणना भएको कुल मतको ४९.३४ प्रतिशत हुन आउँछ । रास्वपाको यो लहरले पुराना राजनीतिक शक्तिहरूलाई निकै पछाडि पारेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ७ लाख ४२ हजार ९०४ मत (१६.८८ प्रतिशत) प्राप्त गरेको छ भने नेकपा (एमाले) ले ६ लाख ३२ हजार १६२ मत (१४.३६ प्रतिशत) सहित तेस्रो स्थान ओगटेको छ ।
अन्य दलहरूमध्ये नेपाली कम्युनिस्ट पार्टीले २ लाख ९४ हजार ९०० मत (६.७० प्रतिशत) र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ५८ हजार ८३० मत (३.६१ प्रतिशत) प्राप्त गरेका छन् ।
नयाँ शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीले १ लाख २ हजार ६६० मतसहित २.३३ प्रतिशत हिस्सा ओगटेको छ । मतगणना जारी रहेकाले यो प्रतिशतमा केही फेरबदल आउन सक्ने भए पनि रास्वपाको ऐतिहासिक अग्रताले आगामी संसदको शक्ति सन्तुलनमा ठूलो प्रभाव पार्ने निश्चित देखिएको छ ।

























