
पर्सा। सामाजिक सञ्जाल टिकटकमा करोडौँको मन जितेका चर्चित टिकटकर मोहम्मद उमर खानले प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद हार बेहोरेका छन्। पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका खानले जम्मा २४० मत मात्र प्राप्त गरेका हुन्।
उमर खानको ‘अफिसियल उमरखान२’ नामक टिकटक आइडीलाई ३२ लाखभन्दा बढीले पछ्याएका छन् भने उनका भिडियोहरू करोडौँ पटक हेरिएका छन्। विशेषगरी ९० को दशकका रोमान्टिक हिन्दी र चर्चित नेपाली गीतहरूमा अभिनय गर्दै उनले लाखौँ फ्यान बनाएका थिए। मेलिना पन्तसँगको उनको टिकटक जोडीलाई दर्शकले निकै रुचाउने गर्छन्। तर, सामाजिक सञ्जालको यो अपार लोकप्रियता मतदाताको मतमा भने बदल्न सकेन।
तेक्वान्डोमा ४३ स्वर्ण पदक विजेता खानले चितवनमा मदरसा विद्यालयसमेत सञ्चालन गरिरहेका छन्। उनले नेपाली फिल्म ‘होस्टेल ३’ मा भिलेनको भूमिकाबाट अभिनयमा डेब्युसमेत गरेका छन्। उनी मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मिया अन्सारीको नेतृत्वमा गठित ‘राष्ट्र निर्माण दल’ बाट चुनावमा होमिएका थिए। गएको पुस १७ गते घोषणा गरिएको यस दलको चुनाव चिह्न पानीको बोतल रहेको थियो।
पर्सा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धिप्रसाद पन्त २७ हजार २७४ मत ल्याएर विजयी भएका छन्। पन्तका निकटतम प्रतिद्वन्द्वी पूर्वमन्त्री एवं नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले १३ हजार ३० मत मात्र प्राप्त गरे। यहाँ नेपाली कांग्रेसका अनिल रुँगटा तेस्रो स्थानमा रहे।
























