
काठमाडौं। विश्वकै प्रतिष्ठित ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालले यस पटक औपचारिक रूपमा सहभागिता जनाउने भएको छ।
नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, सहकार्य विस्तार तथा विश्व बजारमा पहुँच पुर्याउने उद्देश्यले चलचित्र विकास बोर्डले उक्त महोत्सवमा सहभागी हुने बताएको छ।
आगामी मे १२ देखि २३ (२०२६) सम्म फ्रान्सको कान्स सहरमा आयोजना हुने यस महोत्सवमा चलचित्र विकास बोर्डले नेपाल पर्यटन बोर्डको सहकार्यमा सहभागिता जनाउन लागेको हो।
फेस्टिभलमा विशेष स्टलमार्फत नेपाली चलचित्र, विभिन्न फिल्म परियोजना, पोस्ट र ट्रेलरहरू प्रदर्शन गरिनेछ। यसले अन्तर्राष्ट्रिय फिल्म बजारका वितरक, निर्माता, फिल्म फन्ड र फेस्टिभल प्रतिनिधिहरूसमक्ष नेपाली कलालाई पुर्याउने लक्ष्य राखेको छ।
बोर्डका अनुसार कान्समा व्यक्तिगत रूपमा सहभागी हुने नेपाली चलचित्रकर्मीहरूले पनि बोर्डको स्टल साझा गरी आफ्ना परियोजनाहरू विश्वस्तरमा प्रस्तुत गर्न सक्नेछन्।
यस पहलले नेपाली चलचित्रलाई विश्व फिल्म बजारसँग जोड्ने र नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने ऐतिहासिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।



















