
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचन (चुनाव)लाई लक्षित गर्दै देशभर परिचालन गर्नका लागि आफ्ना सांसद र केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएको छ ।
रास्वपाले असोज २० देखि २७ गतेसम्म एक साताका लागि ७७ वटै जिल्लाका ७५३ स्थानीय तहमा नेताहरू खटाउने निर्णय गरेको हो । अभियानका क्रममा संगठन विस्तारसँगै स्थानीय चुनावको तयारी र नागरिकसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिइनेछ ।
रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानको मुख्य उद्देश्य स्थानीय तहमा उम्मेदवार छनोटको लोकतान्त्रिक विधिबारे नागरिकलाई जानकारी गराउनु र पार्टीको आगामी योजना सार्वजनिक गर्नु हो । अभियानमा स्थानीय तहको कामकारबाही, उम्मेदवार छनोट प्रक्रिया तथा स्थानीय नेतृत्व चयनका विषयमा नागरिकसँग छलफल गरिनेछ ।
साथै, वर्तमान सरकार गठन भएको करिब ६ महिनाको अवधिमा संसद् र सरकारमार्फत भएका नीतिगत पहल, नागरिकसँग गरिएका प्रतिबद्धताको कार्यान्वयन र आगामी योजनाका बारेमा पनि जानकारी दिइने रास्वपाले जनाएको छ । डाँगीले अभियानलाई चुनावी तयारीमा मात्र सीमित नराखी स्थानीय सरकारलाई जवाफदेही बनाउने र नागरिकको सहभागितामा सक्षम नेतृत्व छनोट गर्ने लोकतान्त्रिक अभ्यासका रूपमा अघि बढाउन खोजिएको बताएकी छन् ।
यी हुन् जिम्मेवारी दिइएका नेताहरु

























