
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अब अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार इलाम–१ र गोरखा–१ को गणना सकिएसँगै समानुपातिकतर्फको सबै नतिजा सार्वजनिक हुनेछ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यी दुई क्षेत्रको गणना केही बेरमा सकिने जानकारी दिए । हालसम्मको परिणाम अनुसार प्रत्यक्षतर्फ १२५ सिट जितेर ऐतिहासिक सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा पनि ५१ लाख ३६ हजार ६७४ मतसहित ठूलो अग्रता कायम गरेको छ ।
प्रत्यक्षतर्फ १८ सिटमा चित्त बुझाएको नेपाली कांग्रेसले समानुपातिकमा १७ लाख ४८ हजार ३३६ मत प्राप्त गरेको छ । त्यस्तै, प्रत्यक्षमा ९ सिटमा झरेको नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत पाएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फ सात सिट जितेर चौथो शक्ति बनेको नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ४ हजार १७१ मत ल्याएको छ ।
यसपटकको निर्वाचनमा श्रम संस्कृति पार्टी र राप्रपाले पनि थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता सुरक्षित गरेका छन् । श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत पाउँदा राप्रपाले ३ लाख ७४ हजार ३१४ मत ल्याएको छ । हालसम्म कुल एक करोड सात लाख ३२ हजार ९३२ मत गणना भइसकेको छ ।
यसअघि संसद्मा निर्णायक मानिएका मधेसवादी दलहरू भने यसपल्ट निकै पछि परेका छन् । जनता समाजवादी पार्टी (जसपा) ले १ लाख ७४ हजार ३१४ र जनमत पार्टीले ७८ हजार ९५३ मत मात्र प्राप्त गरेका छन् । जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४९७ मत ल्याएको छ ।
तराई–मधेसका विभिन्न दलहरूले गठबन्धन गरी ‘चकिया’ चिन्हबाट चुनाव लडे पनि उनीहरूले ६१ हजार ५३३ मत मात्रै बटुल्न सकेका छन् । यस्तै नेपाल मजदुर किसान पार्टीले ४२ हजार २३५, राष्ट्र निर्माण दल नेपालले ३८ हजार ९३१ र राष्ट्रिय जनमोर्चाले २९ हजार ४३६ मत पाएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) को पक्षमा २३ हजार ८९१ मत खसेको छ ।
सबै क्षेत्रको गणना सकिएपछि आयोगले दलहरूले पाउने अन्तिम सिट सङ्ख्या घोषणा गर्ने तयारी गरेको छ ।
























