
काठमाडौं। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन र राजस्व चुहावटसम्बन्धी दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा विशेष अदालतमा पुनः सुनुवाइ सुरु भएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासमा यी मुद्दाहरूको सुनुवाइका लागि पेसी तोकिएको हो ।
शर्मासहित कर फर्छ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालमाथि १० अर्ब २ करोड १९ लाख रुपैयाँभन्दा बढी राजस्व छुट दिएर भ्रष्टाचार गरेको अभियोग छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको कार्यक्षेत्रभन्दा बाहिर गई बदनियतपूर्वक कर मिनाहा गरेको दाबी गर्दै मुद्दा दायर गरेको थियो । यसअघि विशेष अदालतले उनीहरूलाई राजस्व चुहावटमा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको थियो ।
सोही क्रममा शर्माले सात करोड ९३ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेको र त्यसमध्ये चार करोड ३० लाख रुपैयाँको वैधानिक स्रोत नखुलेको भन्दै गैरकानुनी सम्पत्ति आर्जनको अर्को मुद्दा पनि दर्ता भएको थियो । उक्त मुद्दामा जफत प्रयोजनका लागि उनकी पत्नी कल्पना उप्रेती शर्मालाई पनि प्रतिवादी बनाइएको छ ।
यसअघि विशेष अदालतले गरेको फैसला त्रुटिपूर्ण भएको भन्दै शर्मासहितका प्रतिवादीहरू सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले २०८२ असार २५ गते विशेष अदालतको फैसलामा स्वच्छ सुनुवाइको अवसर नदिइएको र प्रमाण मूल्याङ्कनमा गम्भीर त्रुटी रहेको औँल्याउँदै मुद्दालाई पुनः सुनुवाइका लागि विशेष अदालतमै फर्काइदिएको थियो । सर्वोच्चको सोही आदेशबमोजिम अहिले विशेष अदालतले विज्ञहरूको राय लिने र पुनः सुनुवाइ गर्ने प्रक्रिया अघि बढाएको हो ।
























