
काठमाडौं। नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकमाथि भएको सामूहिक बलात्कार र हत्याको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले यस जघन्य अपराधको छिटो र प्रभावकारी छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रचण्डले उक्त आपराधिक घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन् । उनले मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
प्रचण्डले घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई न्याय दिन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनले यस्ता आपराधिक कृत्यमा संलग्नहरूलाई कुनै पनि हालतमा उम्कन दिन नहुने र कडाभन्दा कडा सजाय हुनुपर्नेमा जोड दिएका छन् ।
























