
काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले राहदानी वितरण प्रणाली अद्यावधिक गर्ने क्रममा सेवा केही समयका लागि अवरुद्ध हुनसक्ने जनाएको छ ।
विभागका अनुसार पुरानो प्रणाली हटाएर नयाँ प्रणाली जडान गर्ने प्रक्रियामा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्ने छ । विभागबाटै प्रदान गरिने सेवा भने एक सातासम्म प्रभावित हुन सक्ने जानकारी दिइएको छ ।
नयाँ प्रणाली पूर्ण रूपमा कार्यान्वयन भएपछि स्थिर हुन एकदेखि तीन महिनासम्म समय लाग्न सक्ने भएकाले आवेदन दिएपछि राहदानी तयार हुन अहिलेभन्दा बढी समय लाग्न सक्ने विभागले जनाएको छ । आगामी पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सेवा लिन विभागले आग्रह गरेको छ ।

























