
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवार र राजनीतिक दललाई चुनावी खर्चको विवरण समयमै सार्वजनिक गर्न निर्देशन दिएको छ ।
आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनसँग सम्बन्धित चुनावी प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण कानुनअनुसार सार्वजनिक गर्नुपर्ने जनाएको हो । आयोगका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ भने समानुपातिक प्रणालीतर्फका राजनीतिक दलले आयोगमै विवरण पेस गर्नुपर्ने व्यवस्था छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार निर्वाचन प्रचारप्रसारमा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ । साथै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र खर्चको विवरण बुझाउनुपर्ने प्रावधान छ ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवार र दलले सार्वजनिक गरेको खर्च विवरणको प्रमाणस्वरूप फोटो, स्क्रिनसट वा अन्य भरपर्दो प्रमाण समेत संलग्न गरी तोकिएको समयभित्र बुझाउनुपर्ने बताए । निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने वा नबुझाउने उम्मेदवार तथा दललाई कानुनअनुसार कारबाही गरिने आयोगले स्पष्ट पारेको छ ।

























