
विराटनगर । विराटनगरमा शुक्रबार अपरान्ह भारतीय रिक्सा चालक मृत फेला परेका छन् ।
विराटनगर महानगरपालिका–१६ दुर्गा मन्दिरस्थित सडकको पश्चिमतर्फ रोकेर राखेको रिक्सामा चालक भारतको जोगवनी घर भएका ४५ वर्षीय कमल पासवान मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रोकेर राखेको विराटनगर–९७ लेखिएको रिक्सामा घोप्टो परेर मृत्यु भएको अवस्थामा पासवानलाई दिउँसो ४ः३० बजेतिर स्थानीयले देखेर प्रहरीलाई खबर गरेका हुन् ।
पासवानको मृत्युको कारण खुल्न सकेको छैन । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा लागिएको छ । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । अनुसन्धानपछि मृत्युको कारण प्रष्ट हुने प्रहरीले जनाएको छ ।

























