
धनकुटा । लगातार दुई दिनदेखि खसेको पहिरोका कारण धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिक शुक्रबार बिहानदेखि सुरु भएको पहिरो शनिबार पनि निरन्तर खसिरहेकाले यातायात सञ्चालन हुन नसकेको हो ।
सडकमा थुप्रिएको करिब ३ सय मिटर क्षेत्रको ढुङ्गा–माटो पन्छाउन निर्माण व्यवसायी भारतीय कम्पनी एप्को इन्फ्रा टेकले प्रयास गरे पनि माथिबाट पुनः पहिरो खस्ने क्रम रोकिएको छैन । इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रमेश प्रधानका अनुसार माथिबाट रुख र ठूला ढुङ्गाहरू समेत झरिरहेकाले काम गर्न जोखिम बढेको छ ।
सडक अवरुद्ध भएपछि धनकुटाको चौबिसे र पाँचथरतर्फ जाने सवारी साधनहरू बाटोमै रोकिएका छन् भने कतिपयलाई वैकल्पिक मार्गमार्फत गन्तव्यतर्फ पठाइएको छ ।
हाल सडक चौडा पार्ने काम भइरहेको सो क्षेत्रमा पहिरोले थप समस्या निम्त्याएको हो । दुई दिनदेखि सडक ठप्प हुँदा धरान, धनकुटा र पाँचथर आवतजावत गर्ने यात्रुहरू मर्कामा परेका छन् । पहिरो पन्छाएर सडक सुचारु गर्न अझै केही समय लाग्न सक्ने देखिएको छ ।

























