
सुनसरी। सुनसरीको हरिनगर गाउँपालिका–१ मा शनिबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। भुटहाबाट हरिनगरतर्फ गइरहेको प्रदेश०१–०२–०५७प ४८९९ नम्बरको मोटरसाइकललाई उखु बोकेको स१ज ४९१४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय २५ वर्षीय दीपक दासको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका दीपकको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले बताए। सोही दुर्घटनामा परी स्थानीय मिथुन दास गम्भीर घाइते भएका छन्। उनको अहिले विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने फरार रहेका चालकको खोजी भइरहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ओलीले जानकारी दिए।

























