
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गर्न आन्तरिक र अनौपचारिक गृहकार्य सुरु गरेको छ। आइतबार बसेको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले शाहलाई दलको नेता चयन गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको जानकारी दिए।
प्रवक्ता झाका अनुसार बालेनलाई संसदीय दलको नेता बनाउन पार्टीको मौजुदा विधानमा केही संशोधन गर्नुपर्ने हुन्छ। त्यसका लागि चाँडै केन्द्रीय समितिको बैठक बोलाउने तयारी भइरहेको छ। “संसदीय दलको नेता चयनका लागि विधान संशोधनको प्रक्रिया अघि बढाउन केन्द्रीय समितिको बैठक कुर्नुपर्छ,” झाले भने, “हामीले यसबारे आन्तरिक रूपमा संवाद गरिरहेका छौँ।”
शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावमा होमिएको रास्वपाले प्रक्रियागत कुराहरू मिलाउन बाँकी रहेको जनाएको छ। केही शीर्ष नेताहरूको स्वास्थ्य अवस्था र उपस्थितिको प्रतीक्षामा रहेकाले निर्णयमा केही ढिलाइ भएको प्रवक्ता झाले स्पष्ट पारे। उनले पार्टी आफ्नो प्रतिबद्धतामा अडिग रहेको र यसमा कुनै आशङ्का नगर्न समेत आग्रह गरे। बालेन शाह भर्खरै सम्पन्न आम निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट भारी मतान्तरले विजयी भएका हुन्।
























