कुवेतमा रहेका नेपाली साउदी हुँदै फर्किन पाउने, मध्यपूर्वमा अलपत्र परेकाको उद्धारको तयारी

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १, आइतबार १९:१२

काठमाडौं । कुवेतमा रहेका नेपाली नागरिकले अब साउदी अरब हुँदै नेपाल फर्किन पाउने भएका छन् । कुवेतमा वैध बसोबास अनुमति अर्थात् कुवेती सिभिल आईडी भएका नेपालीले साउदी भिसा लिएर सडकमार्गबाट साउदी अरब प्रवेश गरी त्यहाँको विमानस्थलमार्फत नेपाल फर्किन सक्ने व्यवस्था मिलाइएको हो ।

कुवेतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कुवेती सिभिल आईडी भएका नेपाली नागरिकलाई अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन आग्रह गरेको छ । दूतावासका अनुसार अनलाइनबाट साउदी भिसा स्वीकृत भएपछि कुवेतबाट सडकमार्ग हुँदै साउदी अरब प्रवेश गर्न सकिनेछ । त्यसपछि साउदीको अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्किन सहज हुनेछ ।

दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै नेपाल फर्किन चाहने नेपालीलाई सहजीकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ । पछिल्ला दिनहरूमा मध्यपूर्वका केही देशहरूमा असहज अवस्था उत्पन्न भएपछि धेरै नेपाली श्रमिक घर फर्किन खोजिरहेका छन् । ती नागरिकलाई सुरक्षित रूपमा नेपाल ल्याउन वैकल्पिक मार्गको व्यवस्था गरिएको दूतावासले स्पष्ट पारेको छ ।

यसैबीच, सरकारले मध्यपूर्वका विभिन्न देशहरूमा अलपत्र परेका नेपाली नागरिकको उद्धार र राहतका लागि पनि विशेष तयारी थालेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले युद्ध प्रभावित पश्चिम एसियाली क्षेत्रका देशहरूमा रहेका तथा ट्रान्जिटका क्रममा फसेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्ने निर्णय गरेको हो ।

सरकारका अनुसार ती देशहरूमा रहेका नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूले उद्धार र सहजीकरणका लागि आवश्यक व्यवस्था मिलाउनेछन् । गृहमन्त्री ओमप्रकाश अर्यालले रियाद, आबुधाबी, दोहा, कुवेत सिटी, मनामा, मस्कट, इस्लामावाद, कायरो र तेल अवीवस्थित नेपाली राजदूतावास तथा जेद्दा र दुबईस्थित नेपाली महावाणिज्य दूतावासलाई राहत र उद्धार कार्यको जिम्मेवारी दिइएको जानकारी दिएका छन् ।

ती देशहरूमा विभिन्न कारणले ट्रान्जिटमा फसेका, काम गुमाएका वा अन्य समस्यामा परेका नेपाली नागरिकलाई सहयोग गर्न ती कूटनीतिक नियोगहरूले समन्वय गर्नेछन् । आवश्यकता अनुसार उनीहरूलाई सुरक्षित स्थानमा राख्ने, आवश्यक कागजी प्रक्रिया मिलाउने तथा नेपाल फर्काउने काम दूतावासहरूले गर्ने व्यवस्था मिलाइएको छ ।

उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले बजेट व्यवस्था गर्ने तयारी पनि गरेको छ । परराष्ट्र मन्त्रालयले ती देशहरूमा रहेका १० वटा नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूका लागि तत्काल खर्चका रूपमा बजेट माग गरेको छ । मन्त्रालयले प्रत्येक दूतावासलाई सुरुवाती चरणमा १० लाख रुपैयाँका दरले बजेट उपलब्ध गराउन प्रस्ताव गरेको जनाएको छ ।

सरकारले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूलाई सम्बन्धित निकायसँग समन्वय गर्दै समस्यामा परेका नेपाली नागरिकको अवस्था पहिचान गर्न र आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएको छ । यसले संकटका बेला विदेशमा रहेका नेपाली नागरिकलाई तत्काल राहत तथा सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ ।

 

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.