अन्तिम क्षणमा प्रधानमन्त्री कार्कीका विश्वासपात्रलाई महत्वपूर्ण पद

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १, आइतबार १९:२४

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना विश्वासपात्रलाई उच्च पदमा नियुक्त गर्दै विगतका विकृतिलाई निरन्तरता दिएकी छन् ।

अन्तरिम सरकारको नेतृत्व गर्दै जेनजी आन्दोलनको मागअनुसार सुशासन कायम गर्ने प्रतिवद्धता देखाएकी कार्कीले आफ्नो कार्यकाल सकिनुअघि नजिकका सहयोगीलाई लाभको पद बाँडेकी हुन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सरकारको तर्फबाट सिफारिस गरेको छ ।

चुनावमा आफू निकट भएर भूमिका खेलेको भन्दै कार्की अर्यालसँग खुसी छन् । त्यही भएकाले सरकारले पाउने तीनमध्ये एक सिटमा अर्याललाई राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

त्यस्तै, राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ । श्रेष्ठ विवादित पृष्ठभूमिका व्यक्ति हुन् । जसले पहिले प्रधानमन्त्रीको सचिवालयमा पत्नी र नातेदारलाई नियुक्त गराएका थिए । आलोचना र विरोधका बाबजुद कार्कीले उनलाई आगामी पाँच वर्षका लागि महत्वपूर्ण पदमा नियुक्त गरेकी छन् ।

निर्वाचन आयोगले चैत ५ गते आसपास राष्ट्रपति समक्ष चुनावकाे प्रतिवेदन बुझाउने तयारी छ । तर, प्रधानमन्त्री कार्कीले अन्तिम क्षणमा आफ्ना विश्वासपात्रलाई लाभको पद बाँडेकी छन् ।

प्रधानमन्त्रीको सचिवालयमा भ्रष्टाचार र निकटजनको बढावा दिने परम्परा अन्तरिम सरकारमा पनि कायम रहेको प्रष्ट भएको छ । राजनीतिक विश्लेषकहरूले यसलाई सरकारको पारदर्शिता र सुशासनप्रतिको चुनौतीका रूपमा टिप्पणी गरेका छन् ।

कार्कीको निर्णयले विगतका सरकारजस्ता व्यक्तिगत लाभ र नियुक्ति प्रथालाई निरन्तरता दिएको आरोपलाई थप बल दिएको छ । कार्कीले आफ्ना नजिकका सहयोगीलाई उच्च पदमा नियुक्त गर्दै आफ्नो विश्वास र पहुँच सुनिश्चित गरेकी छन् ।

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको भन्दै कार्की नेतृत्वको सरकारलाई सबैले धन्यवाद दिएका थिए । सरकारको प्रशंसा पनि भइरहेको छ । तर, सरकार छाड्ने बेला विवादित नियुक्ति र व्यक्तिगत लाभको शैलीलाई कायम राखेपछि कार्कीको आलोचना हुन थालेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.