
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूले जनअपेक्षा र सुशासनका क्षेत्रमा केन्द्रित भएर काम गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार आयोजित पार्टीको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा सहभागी सांसदहरूले भ्रष्टाचारमुक्त मुलुक निर्माण र जनताका आकांक्षा सम्बोधनलाई आफ्नो मुख्य कार्यसूची बनाउने बताएका हुन्।
कार्यक्रममा सांसद हरि ढकालले सुशासनका लागि मुहान नै सफा गरेर अघि बढ्ने संकल्प व्यक्त गरे। उनले जनताको ठूलो अपेक्षा रहेकाले त्यसलाई पूरा गर्न धेरै काम गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे।
यस्तै, यौनिक तथा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै सांसद बनेकी भूमिका श्रेष्ठले पछाडि पारिएका सबै समुदायको हित प्रवर्द्धनमा काम गर्ने बताइन्। उनले अल्पसङ्ख्यक समुदायको आवाजलाई संसद्बाट प्रभावकारी रूपमा उठाउने योजना सार्वजनिक गरिन्।
सांसद आशिका तामाङले आफ्नो ५ वर्षे कार्यकाल मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रित हुने स्पष्ट पारिन्। भ्रष्टाचारको अन्त्य मात्रै भए पनि मुलुकले ठूलो फड्को मार्ने उनको दाबी छ।
अर्का सांसद सागर ढकालले निर्वाचनका बेला पार्टीले सार्वजनिक गरेको वाचा पत्र कार्यान्वयनमा जोड दिने बताए। उनले जनताका सानासाना आकांक्षा पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्दै मुलुकलाई अघि बढाउने ठूला योजनाहरूमा पनि काम गर्ने जानकारी दिए।

























