
विराटनगर । उदयपुरमा बुधबार दुर्घटना हुँदा बालकसहित दुई जनाको मृत्यु भएको छ ।
बेलका नगरपालिका–४ हरिपुर शिसबारीमा स्कुल बसबाट खसेर ९ वर्षीय बालकको मृत्यु भएको छ । बेलका बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बसबाट खसेर ९ वर्षीय सफल बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेलका बोर्डिङ स्कुलमै अध्ययनरत बालक सोही बसमा सवार थिए । गुडिरहेको बसबाट एक्कासि खसेर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
दुर्घटनालगत्तै प्रहरीले स्कुल बस र चालक बेलका–८ का ३४ वर्षीय प्रेम तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । चालकको असावधानीका कारण घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै, बुधबार नै मदनभण्डारी लोकमार्गको कटारी–गाईघाट सडक खण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर खोटाङको बराहापोखरी गाउँपालिका–५ का ३० वर्षीय भूपाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिएको हो । दुर्घटनामा मोटसाइकल चालक राईको मृत्यु भएको र घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
























