
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ जलाइएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।
गृह मन्त्रालयको निर्देशनपछि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको हो।
समितिमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि र शिक्षा इकाइका प्रतिनिधि सदस्य छन्।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न समयसीमा दिएका छन्। समितिले बिहीबारदेखि नै काम सुरु गरेको छ।
सरसफाइका क्रममा पुस्तकका केही प्रति जलेको भिडिओ सार्वजनिक भएपछि चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत लिखित ध्यानाकर्षण गराएका थिए। त्यसलगत्तै मन्त्रालयले यसबारे चासो देखाउँदै छानबिन अघि बढाएको हो।
यसैबीच, मनमोहन प्राविधिक विश्वविद्यालयले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएका सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। विश्वविद्यालयले सिभिल इन्जिनियरिङ विभागका नयाँ ल्याब स्थापना गर्न पुराना वर्कशप खाली गर्ने क्रममा केही सामग्री व्यवस्थापन गरिएको स्पष्ट पारेका छन्। लामो समयदेखि प्रयोगमा नआएका, कवाडी अवस्थामा रहेका र धमिरा लागेका केही पुस्तक मात्र नष्ट गरिएको विश्वविद्यालयले दाबी गरेको छ।

























