
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–३ का आगलागीपीडितलाई बिहीबार प्रारम्भिक राहत वितरण गरिएको छ ।
बुधबार दिउँसोको भीषण आगलागीका कारण घरबारविहीन बनेका मुसहर समुदायका परिवारलाई कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत वितरण गरेको हो । आगलागीमा बस्तीका ११ वटा घर पूर्ण रूपमा जलेर खरानी भएका थिए । पीडित परिवारहरू अहिले जनता आधारभूत विद्यालयमा बसिरहेका छन् ।
राहत वितरण कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम, गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, प्रदेश विपद् व्यवस्थापन समितिका सदस्य रामकुमार दाहाल र मन्त्रालयका जिन्सी शाखा प्रमुख देवराज भट्टराई उपस्थित थिए । तत्कालका लागि खाद्यान्न, लत्ताकपडा र भाँडावर्तन वितरण गरिएको बताउँदै राज्यमन्त्री गौतमले अस्थायी आवास तथा दीर्घकालीन पुनःस्थापनाका लागि थप पहल गरिने बताए ।

आगोले ऋषिदेव परिवारका ११ घर ध्वस्त हुँदा १ करोड १७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोले सर्वस्व सकिएपछि भूमिहीन र दैनिक ज्यालादारीमा निर्भर ऋषिदेव परिवारहरु थप संकटमा परेका छन् ।
पीडितका लागि थप राहत वितरण र दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेको छ । घरभित्र रहेका सबै सामग्री गुमेपछि पीडितहरू मानसिक र आर्थिक संकटमा परेका छन् ।
मोरङको बूढीगंगामा भीषण आगलागी : मुसहर बस्ती खरानी, सर्वस्व सकिएपछि रुवाबासी
























