
विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको रामधुनी नगरपालिका–५ लगुना मोडमा दुर्घटनामा परेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ ।
उपचाररत घाइते सुनसरीको इटहरी उपमहानगरपालिका–१८ का ३५ वर्षीय देवराज बुढथोकीको बिहीबार राति १० बजेतिर मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका बुढाथोकीको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको थियो ।
साइकलमा यात्रा गरिरहेका बेला बुढाथोकीलाई को २ च २०७९ नम्बरको योद्दा पिकअप गाडीले बिहीबार बिहान ५ बजेतिर ठक्कर दिएको थियो । शब्जी बोकेर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पिकअपले साइकल यात्री बुढाथोकी र पैदलयात्री रामधुनी–३ का ५२ वर्षीय विष्णुप्रसाद खतिवडालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
खतिवडाको विराट शिक्षण अस्पतालमै बिहीबार बिहान मृत्यु भएको थियो । उपचाररत बुढाथोकीको पनि राति मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
तीव्र गतिमा रहेको पिकअप साइकल यात्री र पैदलयात्रीलाई ठक्कर दिएर फरार बनेको थियो । उक्त गाडी सुनसरीको कोशी गाउँपालिका–१ भन्सार टोलस्थित भित्री बाटोमा लुकाएर राखिएको अवस्थामा प्रहरीले फेला पारेको छ । चालक भने फरार रहेको र खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।
























