देशले अबको एक साताभित्र नयाँ प्रधानमन्त्री पाउने

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार ०७:२१

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै मुलुकमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ । देशले अबको एक साताभित्रमा नयाँ प्रधानमन्त्री पाउने छ ।

एकल सरकार गठनको तयारी अघि बढाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अबको एक साताभित्र नयाँ प्रधानमन्त्री नियुक्त गर्ने दिशामा औपचारिक छलफल सुरु गरेको छ । बिहीबार काठमाडौंमा बसेको रास्वपाका शीर्ष नेताहरूको बैठकले चैत १३ गते नयाँ प्रधानमन्त्रीको शपथ गराउने लक्ष्यसहित आवश्यक संवैधानिक र प्रशासनिक तयारी अघि बढाउने सहमति गरेको छ ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार मिति तय गरिए पनि राष्ट्रपतिदेखि अन्य सम्बन्धित निकायहरूसँगको परामर्शपछि मात्रै अन्तिम निर्णय लिइने छ । उनले सरकार गठनका लागि आवश्यक सबै पक्षसँग समन्वय तीव्र बनाइने स्पष्ट पारे ।

रास्वपाले चैत १२ गतेका लागि संघीय संसद् सचिवालयले तय गरेको सांसदहरूको शपथ ग्रहण कार्यक्रमलाई सरकार गठनको पूर्वाधारका रूपमा लिएको छ । सोही दिन सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएलगत्तै नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइनेछ ।

पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सांसदहरूको शपथपछि सरकार गठनसँग सम्बन्धित काम हुने बताए । नयाँ प्रधानमन्त्रीका रूपमा पार्टीका वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)लाई अघि सार्ने निर्णय रास्वपाले यसअघि नै गरिसकेको छ ।

निर्वाचनअघि भएको आन्तरिक सहमति अनुसार उनलाई नै संसदीय दलको नेता चयन गरेर प्रधानमन्त्री नियुक्त गर्ने पार्टीको तयारी छ । पार्टीको चैत १२ गते बस्ने केन्द्रीय समिति बैठकले शाहलाई संसदीय दलको नेतामा औपचारिक रूपमा अनुमोदन गर्नेछ । त्यसपछि उनलाई प्रधानमन्त्री बन्ने संवैधानिक बाटो खुला हुनेछ ।

पार्टीभित्र मन्त्रिपरिषद् गठनका बारेमा पनि छलफल चलिरहेको छ । यद्यपि, मन्त्रिपरिषद्को आकार, संरचना र सदस्यहरूको टुंगो भने अझै लागिसकेको छैन । नेताहरूका अनुसार प्रधानमन्त्रीको शपथसँगै सोही दिन मन्त्रिपरिषद् गठन गर्ने तयारी रहेको छ । तर, त्यसका लागि आन्तरिक सहमति र आवश्यक राजनीतिक सन्तुलन मिलाउन थप छलफल आवश्यक देखिएको रास्वपाले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनबाट १८२ सिट जित्दै रास्वपाले झण्डै दुईतिहाइ नजिकको बहुमत प्राप्त गरेको छ । यही संख्यात्मक बलका आधारमा पार्टीले एकल सरकार गठन गर्ने निर्णय लिएको हो । बहुमतसहितको सरकार गठन हुन लागेकाले आगामी सरकारको स्थायित्व र नीति कार्यान्वयन क्षमताप्रति पनि विशेष चासो बढेको छ ।

यसबीच संघीय संसद् सचिवालयले चैत १६ गते संसद्को अधिवेशन आह्वान गर्ने तयारी पनि अघि बढाइसकेको छ । सर्वदलीय बैठकमार्फत संसद् सञ्चालनका प्रारम्भिक कार्यतालिका र व्यवस्थापनका बारेमा दलहरूलाई जानकारी गराइएको छ । नयाँ सरकार गठन भएपछि केही दिनमै संसद् बैठक सुरु हुने भएकाले सरकारलाई प्रारम्भिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दबाब पनि रहनेछ ।

रास्वपाभित्रका छलफलहरू अहिले सरकार गठन, नेतृत्व चयन र शक्ति बाँडफाँटमा केन्द्रित छन् । शीर्ष नेताहरूबीच निरन्तर संवाद भइरहेको र आवश्यक परे अन्य संवैधानिक निकायहरूसँग पनि समन्वय गर्ने रणनीति बनाइएको नेताहरुले बताएका छन् ।

नेताहरुका अनुसार अब नयाँ सरकार गठनको प्रक्रिया निर्णायक चरणमा पुगेको छ । सबै प्रक्रिया निर्धारित समयमै अघि बढेमा मुलुकले अबको एक साताभित्र नयाँ प्रधानमन्त्री पाउने लगभग निश्चित देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.