
काठमाडौं । निर्वाचनपछिको नयाँ संसद्को पहिलो अधिवेशन आगामी चैत १६ गतेका लागि आह्वान गरिने भएको छ । वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले यसका लागि शुक्रबार मन्त्रिपरिषद्को बैठक बोलाएको छ ।
सामान्यतया नयाँ सरकार गठनपछि मात्रै संसद् अधिवेशन आह्वान गरिने प्रचलन भए पनि राजनीतिक दलहरूबीच चैत १६ गते नै अधिवेशन सुरु गर्ने अडान कायमै रहेकाले वर्तमान सरकारले नै यो प्रक्रिया अघि बढाउन लागेको हो ।
नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गतेका लागि तय भइसकेको छ र अधिवेशन आह्वानका लागि सात दिनको समय राख्नुपर्ने कानुनी बाध्यताका कारण कार्की नेतृत्वको सरकारले यो निर्णय लिनुपरेको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले चैत १६ गतेका लागि अधिवेशन आह्वान गर्ने निर्णय गर्ने प्रबल सम्भावना छ । यसअघि नयाँ सरकारले अधिवेशन बोलाउने कि अन्तरिम सरकारले भन्नेमा अन्योल थियो, तर अब वर्तमान सरकारले नै यो प्रक्रिया पूरा गर्ने निश्चित भएको छ ।
सङ्घीय संसद् सचिवालयका एक पदाधिकारीका अनुसार सरकारका तर्फबाट अनौपचारिक रूपमा चैत १६ गतेका लागि अधिवेशन आह्वान हुने जानकारी गराइएको छ र त्यसै अनुरूप तयारी भइरहेको छ ।
























