डीएसपीमाथि आक्रमण गर्ने १ जना पक्राउ, ५ फरार

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार ११:३९

काठमाडौं । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरीको बीओपी (बोर्डर आउट पोस्ट) भित्रै प्रवेश गरेर सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलमाथि आक्रमण गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका-९ बस्ने ४० वर्षीय रामबहादुर साउदलाई इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेको हो ।

डीएसपी पौडेलले दिएको जाहेरीका आधारमा साउदलाई पक्राउ गरिएको कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । साउदविरुद्ध आपराधिक उपद्रव मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

पौडेलले साउदसँगै अन्य पाँच जनाको नाममा समेत जाहेरी दिएका छन् । फरार रहेका टीकापुरकै नयन साउद, सर्पराज साउद, सुरेश खड्का, रमेश खड्का र भारतको लखिमपुरखिरी बस्ने रशिद आलिखानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार खक्रौला बीओपीले जिएसटी बिल र भारतीय भन्सार पास भएको टीकापुरका व्यवसायीको सामान जफत गरेपछि विवाद सुरु भएको थियो । सोही विषयमा छलफल गर्न टीकापुर उद्योग वाणिज्य संघको टोली बुधबार बीओपी पुगेका बेला एक समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थियो ।

बिल बिजक भेटिएपछि सशस्त्र प्रहरीले व्यवसायीले भारतबाट ल्याएको सामान उद्योग वाणिज्य संघमार्फत सम्बन्धित व्यवसायीलाई फिर्ता गरेको थियो । घटनाको छानबिनका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनीले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अनिल कार्कीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.