
जनकपुरधाम। प्रधानमन्त्री सुशीला कार्कीले धनुषाको जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरको दर्शन गरेकी छिन् । निर्वाचन सम्पन्न भएपछि देशका विभिन्न भागको भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान मन्दिर पुगेर विशेष पूजा अर्चना गरेकी हुन् ।
सो क्रममा उनले जानकी मन्दिर परिसरभित्रै रहेको सीता राम मन्दिरको समेत दर्शन गरिन् र त्यहाँ भइरहेको भजन–कीर्तनमा केही समय सहभागी भइन् । मन्दिरको दर्शन र पूजापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले जानकी धामको दर्शनबाट आफूले निकै शान्ति महसुस गरेको बताएकी छिन् ।
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी र स्थानीय बासिन्दालाई धन्यवाद दिने क्रममा उनी देशका विभिन्न स्थान पुगिरहेकी छिन् । यसै सिलसिलामा उनी बिहीबार कर्णाली प्रदेश पुगेकी थिइन् भने शुक्रबार मधेस प्रदेशको जनकपुरधाम आइपुगेकी हुन् ।



















