
धनकुटा। जल तथा मौसम विज्ञान विभागले शक्तिशाली हावाहुरी, असिना र चट्याङको चेतावनी दिएपछि धनकुटामा स्थानीय प्रशासनले सतर्कता सूचना जारी गरेको छ।
विभागले शुक्रबार र शनिबार धनकुटा, धरान र विराटनगर लगायतका क्षेत्रमा प्राकृतिक विपद्को जोखिम रहेको जनाउँदै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
विभागका अनुसार हावाको गति प्रतिघण्टा ११९ किलोमिटरसम्म पुग्न सक्ने अनुमान छ। बदलिँदो मौसम प्रणालीका कारण केही दिनसम्म मेघगर्जनसहित भारी वर्षा हुन सक्ने भएकाले विशेष सावधानी आवश्यक रहेको बताइएको छ।
सशस्त्र प्रहरी बल नेपालअन्तर्गत छिन्ताङ गुल्म धनकुटाले जोखिमबारे जानकारी गराउन बजार तथा आसपासका क्षेत्रमा माइकिङ सुरु गरेको छ।
गुल्मपति प्रहरी नायब उपरीक्षक प्रेमप्रसाद सिग्देलका अनुसार धनकुटा बजार र मूलघाटस्थित बेस क्याम्पबाट सूचना प्रवाहका लागि टोली परिचालन गरिएको छ। चट्याङ पर्ने सम्भावना भएकाले खुला ठाउँ, खेतबारी, डाँडा तथा अग्ला स्थानमा नबस्न र बिजुलीको पोल वा टावर नजिक नजान विभागले सुझाव दिएको छ।
सम्भव भएसम्म घरभित्र सुरक्षित स्थानमा बस्न र विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ।
हावाहुरीको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, झ्यालढोका मजबुत राख्न र कमजोर संरचनाबाट टाढा रहन अनुरोध गरिएको छ। सवारीसाधन चलाउँदा विशेष सतर्कता अपनाउन चालकलाई सचेत गराइएको छ।
भारी वर्षाका कारण नदीमा बाढीको जोखिम बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकाले जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरिएको छ। आपत्कालीन अवस्थाका लागि सुरक्षा निकायको सम्पर्कमा रहन र आवश्यक नम्बर अद्यावधिक राख्न सशस्त्र प्रहरी नायब उपरीक्षक सिग्देलले आग्रह गरेका छन्। मौसमी सतर्कताका कारण धनकुटाका केही निजी विद्यालयले शुक्रबार बिदा समेत दिएका छन्।
























