पश्चिम एसियाबाट ८२ हजार नेपाली अनलाइन दर्ता प्रणालीमा आबद्ध

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार १५:२४

काठमाडौं। । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म पश्चिम एसियाबाट ८२ हजार एक सय जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ।

शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी दिएका हुन्। उनका अनुसार प्रणालीमा दर्ता भएकामध्ये करिब ६ हजार जनाले सुरुमा आफूहरू असुरक्षित रहेको जानकारी गराएका थिए। तर पछिल्ला दिनहरूमा असुरक्षित महसुस गर्नेहरूको सङ्ख्या उल्लेख्य रूपमा घटेको उनले बताए।

इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका बीच पश्चिम एसियाका विभिन्न देशहरूबाट मन्त्रालयको आपत्कालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको क्षेत्रीले उल्लेख गरे।

उनले अवस्था सामान्य बन्दै गएका कारण श्रम स्वीकृतिको विषयमा जानकारी लिन धेरैजसो सम्पर्क हुने गरेको जानकारी दिए। मन्त्रालयले आफ्ना १० वटै नियोगहरूमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य भइरहेको उनले बताए।

ब्रिफिङका क्रममा प्रवक्ता क्षेत्रीले हाल कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको जानकारी दिए। जेद्दामा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेको उनको भनाइ छ।

उनले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको भन्दै आवश्यक परेको खण्डमा उद्धारका लागि समेत तयार रहेको बताए। सरकारले परिस्थितिको निरन्तर मूल्याङ्कन गरिरहेको र नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेको उनले स्पष्ट पारे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.