
विराटनगर । मोरङको उर्लाबारीमा हिँडिरहेका बेला अचानक लडेर बेहोस भएका युवकको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका–७ का ३५ वर्षीय रञ्जित शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । उर्लाबारी–७ स्थित इटहरा रोडमा हिँडिरहेका बेला दिउँसो १ः४० बजेतिर अचानक लडेर उनी बेहोस भएका थिए ।
स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याएको थियो । उपचारकै क्रममा दिउँसो २ः२५ बजेतिर शर्माको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए ।
शव हाल सोही अस्पतालमा रहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
























