
विराटनगर । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस आज (शनिबार) देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
चारपटकसम्म मुलुकको प्रधानमन्त्री बनेका कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो । नेपाली राजनीतिक इतिहासमा उनलाई लोकतान्त्रिक आन्दोलनका प्रमुख नेतृत्वकर्ताका रूपमा स्मरण गरिन्छ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनविरुद्ध भएको आन्दोलनमा कोइरालाले महत्वपूर्ण नेतृत्व प्रदान गरेका थिए । २०६३ सालको जनआन्दोलन सफल पार्दै उनले विघटित प्रतिनिधिसभा पुनःस्थापना गराउन भूमिका खेलेका थिए । जसलाई नेपाली ‘म्याग्नाकार्टा’का रूपमा लिने गरिन्छ । आन्दोलनपछि उनी पुनः प्रधानमन्त्री बनेका थिए ।
उनकै नेतृत्वमा माओवादी सशस्त्र द्वन्द्व अन्त्य भई शान्ति प्रक्रिया अगाडि बढेको थियो । साथै, २०६४ सालमा संविधानसभा निर्वाचन सम्पन्न गराउँदै मुलुकलाई नयाँ राजनीतिक युगतर्फ अघि बढाइएको थियो ।
पछि २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्न पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनको योगदानको सम्मान गर्दै नेपाली कांग्रेस तथा यसका भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
























