बीपी राजमार्ग अवरुद्ध, यात्रुहरू अलपत्र

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ७, शनिबार ०८:५४

काभ्रेपलाञ्चोक । लगातारको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्ग अवरुद्ध भएको छ । अस्थायी रूपमा सञ्चालनमा रहेको डाइभर्सन खोलाले बगाउँदा राजमार्ग पूर्ण रूपमा बन्द हुन पुगेको हो ।

काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गा क्षेत्रमा निर्माण गरिएका अस्थायी डाइभर्सनहरू बाढीले बगाएको छ । निर्माणाधीन अवस्थाका कारण राजमार्गका धेरै भाग रोशी खोलाको किनारमै रहेका छन् । जसले गर्दा खोला बढेर सडकमा पस्दा यातायात पूर्ण रूपमा प्रभावित भएको जानकारी उनले दिए ।

हाल सडक विभाग र स्थानीय तहसँग समन्वय गरी राजमार्ग खुलाउने प्रयास भइरहेको छ । तर, वर्षा नरोकिएसम्म तत्काल सञ्चालनमा ल्याउन चुनौती रहेको बताइएको छ । प्रहरीले यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् । यात्रुहरु अलपत्र परेका छन् । यसअघि पनि अविरल वर्षाका कारण क्षतिग्रस्त बनेको यो सडक खण्ड हाल पुनर्निर्माणको क्रममा रहेको छ । डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.