
काठमाडौं। रुकुम पूर्वमा शुक्रबार रातिदेखि भइरहेको निरन्तरको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । हिमपातले गर्दा विशेषगरी जिल्लाको भूमे गाउँपालिका-१ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड बन्द भएको हो ।
लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक केशवराज ज्ञवालीका अनुसार काठमाडौँबाट रुकुम पूर्वतर्फ आउँदै गरेका रात्रिबसहरू पातिहाल्ना क्षेत्रमा फसेका छन् ।
हाल सो खण्डमा ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल गरी ठूलो संख्यामा सवारीसाधन रोकिएका छन् भने २५० जनाभन्दा बढी यात्रुहरू चिसोमा अलपत्र परेका छन् ।
अहिले पनि सो क्षेत्रमा निरन्तर वर्षा र हिमपात भइरहेका कारण सडक सुचारु गर्न निकै चुनौती देखिएको छ । हिमपातका कारण सञ्चार सेवा समेत प्रभावित हुँदा उद्धार कार्यमा थप समस्या उत्पन्न भएको छ ।
यद्यपि अलपत्र परेका यात्रुहरूको सुरक्षित उद्धारका लागि स्थानीय तहसँग आवश्यक समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक ज्ञवालीले बताए । मौसममा सुधार नआएसम्म सो क्षेत्रमा यात्रा नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
























