
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको नागरिक स्वतन्त्रताका लागि भएका हरेक सङ्घर्ष र बलिदानीपूर्ण आन्दोलनहरूमा मधेसी समुदायले ऐतिहासिक र महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । मधेसी आयोगको सातौँ वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा शनिबार शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
राष्ट्रपति पौडेलले विभिन्न आन्दोलनहरूमा अभिव्यक्त स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन र समृद्धिसहितको राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नु नै अहिले सबै नेपालीको चाहना भएको उल्लेख गरे । उनले यो चाहनालाई आत्मसात गर्दै राष्ट्र निर्माणको दायित्व पूरा गर्न सबै पक्षलाई आह्वान समेत गरे । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले सम्पन्न राष्ट्र भएको चर्चा गर्दै उनले यस विविधताभित्र मधेसी समुदायको योगदान अतुलनीय रहेको बताए ।
ऐतिहासिक रूपमा मधेसी समुदाय राजनीतिक, सामाजिक र आर्थिक अवसरहरूबाट वञ्चित रहँदै आएको यथार्थलाई स्वीकार गर्दै राष्ट्रपतिले ती असमानता अन्त्य गर्ने उद्देश्यले नै आयोगको स्थापना गरिएको प्रस्ट पारे । आयोगले विगत सात वर्षमा मधेसी समुदायको पहिचान र अधिकारका लागि महत्त्वपूर्ण जग बसालेको भन्दै आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।
संविधानले आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा कार्य सम्पादन गर्ने अधिकार दिएको स्मरण गराउँदै राष्ट्रपतिले हालै सार्वजनिक गरिएको प्रतिवेदनका सिफारिसहरूले मधेसी समुदायको हकहित संरक्षण र सशक्तीकरणका लागि ठोस मार्ग निर्देशन प्रदान गर्ने विश्वास व्यक्त गरे । ती सिफारिसहरूले समुदायका विद्यमान समस्या पहिचान गरी समाधानका उपायहरू समेत सुझाएको उनको भनाइ थियो ।
























