
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ मा बालबालिकाको दुरुपयोग रोक्न विभिन्न प्रयास भए पनि राजनीतिक दलहरूले उनीहरूलाई प्रचारप्रसारमा प्रयोग गरेको पाइएको छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप) ले सार्वजनिक गरेको अनुगमन प्रतिवेदनअनुसार निर्वाचनका क्रममा बालबालिकासम्बन्धी २ सय ८६ वटा दुरुपयोगका घटना दर्ता भएका छन् । निर्वाचनपछि पनि विजय जुलुस र उत्सवका क्रममा १९ वटा यस्ता घटना अभिलेख गरिएको सिजपले जनाएको छ ।
ललितपुरमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै सिजपका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिकालाई राजनीतिक दलका झन्डा बोकाउने, जुलुसमा सहभागी गराउने र नारा लगाउन लगाउने जस्ता कार्यमा प्रयोग गरिएको बताए।
त्यस्तै प्रचार सामग्री वितरण गर्ने, दलको चिह्न अंकित पोसाक लगाउने र चुनावी गीत तथा नृत्यमा समेत बालबालिकाको दुरुपयोग भएको प्रतिवेदनमा उल्लेख छ । सरोकारवालाहरूले निर्वाचनमा बालबालिकाको प्रयोग रोक्न आगामी दिनमा कडा नीतिगत व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दुर्गाप्रसाद चालिसेले सरोकारवालाको खबरदारीका कारण विगतको तुलनामा दुरुपयोगका घटनामा केही कमी आएको दाबी गरे । यद्यपि राष्ट्रिय बालअधिकार परिषद् र मानवअधिकार आयोगका प्रतिनिधिहरूले भने कानुनी रूपमै थप कडाइ गर्नुपर्नेमा जोड दिएका छन् ।
कतिपय उम्मेदवारले मतदानका क्रममा साना बालबालिकालाई साथैमा लिएर हिँडेको भन्दै यस्ता व्यवहारिक कमजोरी सच्याउनुपर्ने धारणा कार्यक्रममा राखिएको थियो । अनुगमनका क्रममा मतदानको दिन प्रत्यक्ष आचारसंहिता उल्लङ्घनका घटना कम देखिए पनि विद्यालय भवनलाई मतदान केन्द्रका रूपमा व्यापक प्रयोग गरिएको पाइएको छ ।
देशभरका १० हजार ९ सय ६७ मतदान स्थलमध्ये ९ हजार ४ सय ५० वटा विद्यालयमा स्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ । सिजपले निर्वाचन परिणाम घोषणापछिका विजय जुलुसमा भएका बालबालिकाको प्रयोगलाई समेत गम्भीरतापूर्वक लिन आग्रह गरेको छ ।
























