
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अब बन्ने नयाँ सरकारले जातीय विभेद र रङ्गभेद पूर्ण रूपमा अन्त्य हुने गरी काम गर्नुपर्ने बताएका छन् ।
६१औँ अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मुलन दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलित समुदायको हक अधिकार संरक्षण र संवर्द्धनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । निर्वाचनपछि नयाँ शक्तिहरू सत्तामा आउन लागेको सन्दर्भमा उनले राजनीतिक प्रतिबद्धता बिना कानुनको सफल कार्यान्वयन असम्भव रहेको बताए ।
अध्यक्ष मगरले समाजमा जरा गाडेर बसेको जातीय विभेद हटाउन मानिसको मानसिकतामै परिवर्तन ल्याउन जरुरी रहेको औँल्याए । उनले कानुन भएर मात्र नपुग्ने भन्दै त्यसको व्यावहारिक कार्यान्वयनका लागि राज्यका सबै निकाय र राजनीतिक दलहरू एकजुट हुनुपर्ने धारणा राखे । नयाँ बन्ने सरकारले दलितको अधिकार कुनै पनि बहानामा हनन हुन नदिने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो ।
आयोगले जातीय विभेद अन्त्यका लागि सम्बन्धित सबै पक्षसँग मिलेर काम गरिरहेको दाबी गर्दै उनले विद्यमान कानुनको कडाइका साथ पालना गराउन आवश्यक रहेको दोहोर्याए । कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि सामाजिक न्याय र समानताका लागि नयाँ सरकारको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
























